काठमाडौं, २३ चैत । कान्ति लोकपथअन्तर्गत ललितपुरमा प्रहरीले शनिबार बिहान भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गरेको छ ।
नियमती सवारीसाधन चेकजाँचका क्रममा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्सबाट अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल ९ हजार ४ सय ८ पत्तामा ९४ हजार ८० वटा बरामद गरिएको प्रहरीले जानकारी दिए ।
लागुऔषधसँगै एम्बुलेन्स चालकसमेत ६ जनालाई पक्राउ गरिएको छ । जसमा दुई जना भने बालबालिका रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएकामा एम्बुलेन्स चालक भारत, बिहार प्रान्त, पूर्वी चम्पारण, मोतिहारी जिल्ला रक्सौल नगर वार्ड नं. ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्दिकी, मोतिहारी जिल्लाकै टुमरिया ग्राम पञ्चायत वार्ड नं. ५ स्थायी वतन बताउने वर्ष २० का समिर आलम, मोतिहारी जिल्लाकै राजाबजार नगर वार्ड नं. ३३ स्थायी वतन बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी र मोतिहारीकै पलानवा ग्राम पञ्चायत वार्ड नं. ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन छन् ।
उनीहरूका साथमा रहेका तीनवटा मोबाइल पनि प्रहरीले जफत गरेको छ । बरामद गाडी तथा सामानसहित पक्राउ परेका मानिसहरूलाई कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शनिबार बिहान १ः५५ बजे ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोस्टमा खटिएको प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा सो भारतीय एम्बुलेन्स शंका लागेर रोकी चेकजाँच गर्दा लागुऔषध भेटिएको छ ।












