काठमाडौं, २२ चैत । सुनसरीमा बालिका अपहरण भएपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।
अपहरणमा परेकी सात वर्षीया बालिकालाई पूर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको कोसी व्यारेजस्थित २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दियो ।
डीएसपी खतिवडाका अनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) रहेका छन् । यही चैत २० गते साहको अपहरणमा परेकी कोसी गाउँपालिका ७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी ७ वर्षीय छोरी ईशु सदालाई २४ घण्टापछि अपहरण मुक्त गरिएको प्रहरीले बताएको छ ।
साहले बालिकालाई सुनसरीको कोसी गाउँपालिका –७ स्थित उनकै घरबाट अपहरण गरेको खुलेको छ । बालिकालाई लिएर उनी अटो रिक्सामा कोसी व्यारेज पुगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको हो । आरोपी साह भारतको रानीगञ्ज बस्दै आएका थिए ।
बालिकाको परिवारसँग उनको चिनजान रहेको आधारमा उनले बालिकालाई फ्रुटी खान दिएर आफूसँगै लिएर गएको खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खतिवडाले जानकारी दिएको छ ।














