एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ ।
दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो ।
महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।
राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए। तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।
तर पनि त्यस्तो प्रयास गरेको भनी दक्षिण कोरियाली संसद्ले उनीविरुद्ध महाभियोग लगाएको थियो । त्यहाँको प्रावधानअनुसार महाभियोलाई संवैधानिक अदालतले सदर गरेपछि मात्र उनी पदबाट हट्नुपथ्र्यो ।
शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् । उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो ।














