जनकपुर, २१ चैत । मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ ।
चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिइन्छ । भोलि अर्थात शुक्रवार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अघ्र्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।
जनकपुरको अर्गजासर, गंगासागरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । यसपटक पनि चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सजाइएको छ ।
चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।
आज सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अघ्र्य दने गर्दछन् । अघ्र्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन हुने चलन छ ।














