हेटौँडा, १४ चैत । हेटौँडामा देवरले भाउजूलाई हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेको छ ।
राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन् ।
उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो नै जिल्ला प्रहरी कार्यलयमा ल्याएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले बताए ।
घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेलाका थिए ।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने अनुमान गरे ।
राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन भाउजू र माइलो दाइमाथी आक्रमण गरे भन्ने खुलेको छैन । प्रहरी निरीक्षक सापकोटाका अनुसार गुडियाका ३ सन्तान छन् ।
उनका श्रीमान रोशन दास रोजगारीको सिलसिलामा कतारमा रहेका पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














