काठमाडौं, २७ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।
बैठकले देशलाई संकटबाट मुक्त तुल्याउन पूर्वराजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको हो । त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखा परेको वृहत् जनप्रदर्शन भएको पार्टीको ठहर छ ।
बिज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको समेत जनाइएको छ ।












