कैलाली, १९ फागुन । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ ।
दलित महिला सङ्घ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन÷तीन लाखका दरले अनुदान रकम वितरण गरेको जनाईएको हो ।
नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला सङ्घका अध्यक्ष सविना सुनारले बताइन । महिलाले सो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बङ्गुरपालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ ।
परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति रु १५ हजारदेखि ३५ हजारसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिइन्।
अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ ।












