काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस एमालेलगायतका पार्टीहरूले मुलुक र जनताको पक्षमा संविधान संशोधन गर्छन् भन्ने विश्वास नभएको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले अहिलेका सत्तारुढ दलहरूले संविधान संशोधनको नाममा प्राप्त उपलब्धिहरूलाई कटौती गर्ने, संघीयता कमजोर पार्ने समानुपातिक प्रतिनिधित्व प्रणाली हटाउने, समावेशी प्रतिनिधित्वलाई कम गर्ने कार्य गर्ने खतरा रहेको बताएका छन् ।
साथै संविधानमा प्राप्त उपलब्धि कमजोर वा समाप्त पार्न खोजिए पार्टीले सडक र सदन दुवै स्थानबाट प्रतिकार गर्ने यादवले बताए । ‘यदि संविधानमा प्राप्त उपलब्धिलाई कुनै किसिमले कमजोर बनाउने÷समाप्त पार्ने कार्यहरू गरीए हामी सदन र सडकबाट त्यसको प्रतिकार गर्नेछौ’, अध्यक्ष यादवले भनेका छन्, ‘संविधान जारी भएको १० वर्ष बित्न लाग्यो, संविधानमा प्रत्यायोजित प्रदेशको अधिकार प्राप्तिका लागि बनाउनुपर्ने थुर्पै आवश्यक ऐन कानुनहरू नबनाएको हुनाले यसबाट यथास्थितिवादी प्रतिगामी शक्तिहरूको मनोभावना बुझिन्छ ।’
संविधान कार्यान्वयनमा गएपछि संवैधानिक कठिनाइहरूलाई हटाउन र जन पक्षीय संविधान बनाउन संविधान संशोधन अपरिहार्य रहेको यादवको भनाइ छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली पार्टीको एजेन्डा रहेकाले मुलुकमा स्थिरता र सुशासन कायम गर्न, जनताबाट निर्वाचित समानुपातिक समावेशी संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति संविधानमा व्यवस्था गर्नुपर्ने जसपा नेपालले भनेका छन ।














