काठमाडौं, २२ माघ । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ ।
आज मंगलवार थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको फाइलमा पुग्न सम्भावना समाप्त भयो । टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।
नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए । रुबिनाले नेपालका लागि सर्वाधिक २६ रन जोडिन् । उनले २९ बलको सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरेकी थियो । पूजा महतो २८ बलमा १८ रन बनाएर आउट भयो । कविता जोशीले २० बलमा २४ रन जोडेर आउट हुँदा रोमा थापा १९ बलमा त्यति नै रन बनाएर अविजित रहिन् ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १५ रन चाहिएको थियो भने हातमा तीन विकेट मात्र थिए । पहिलो बलमै एलिसा यादव रनआउट भइन् । बाँकी ५ बलमा नेपालले ९ रन मात्र जोड्न सक्यो । नेपालले थाइल्यान्डविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो ।
५६ रनमा थाइल्यान्डले ६ विकेट गुमाएको थियो । तर सातौं र आठौं नम्बरका ब्याटरले थाइल्यान्डलाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याए । उनीहरुबीच अर्धसतकीय साझेदारी भएको थियो । नेपालको लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् । पूजा महतो र रचना चौधरीले एक–एक विकेट लिए ।














