एजेन्सी । टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ ।
आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचार पश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए । आगलागी होटलको भान्साघरबाट शुरु भएको अनुमान गरिएको छ ।
२३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो । उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको लागेको थियो ।
दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछि प्रहरीले होटलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा लापरबाही गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् । मृतकहरुको सम्झनामा टर्कीमा बुधवार राष्ट्रिय शोकको घोषणा गरिएको थियो भने राष्ट्रिय झण्डा आधा झुकाएको छ ।














