रौतहट, १० पुस । रौतहटको कटहरिया नगरपालिकामा कार्यालयमा तालाबन्दी भएको छ ।
उपमेयर रिता देवी यादवको नेतृत्वमा मङ्गलवार कर्मचारीहरूलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरिएको छ । घर–घरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई गरिएको निर्णय बदर गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ ।
जनप्रतिनिधिहरूले मेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन् । उनीहरूले मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले नगरपालिकाको करोडौं रुपैयाँ अनियमितता गर्न लागेको आरोप लगाएका छन् ।
गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको भए पनि करार कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालयका प्रस्तावमा सहमति नभएको जनाइएको छ ।
सहमति नहुँदा बैठक स्थगित भए पनि निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत जोशीले विभिन्न निर्णय लेखेर हस्ताक्षर गराउन खोजेको उपमेयर यादवको आरोप छ ।














