काठमाडौँ, १९ कार्तिक । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।
मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएका छन ।














