जनकपुर, १९ असोज । आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको छ ।
देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ ।
चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन् । देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको कृपा पाउँदा पापहरूको नाश हुन्छ। देवीको स्वरुप शान्त र करुणामयी छ, जसका कारण गीत–संगीत क्षेत्रमा लागेकाहरू विशेषतः उनीप्रति श्रद्धा व्यक्त गर्दछन्। चन्द्रघण्टा देवीको आराधना गर्दा ललाटमा चमक प्राप्त हुने विश्वास गरिएको छ ।
यसअघि बिहीबार नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको छ ।
नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतजस्ता धार्मिक पाठहरू गरिन्छ। धार्मिक मान्यताअनुसार नवरात्रको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवमीसम्म दुर्गा देवीको विशेष पूजा हुन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैं पर्व मनाइन्छ ।












