जनकपुरधाम, १४ असोज । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दु्ई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् । बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् ।
मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ । आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ ।














