जनकपुरधाम, २४ भदौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सहभागिता, नेतृत्व र अधिकारका कुरा मधेशीले गर्दा इन्जिनियर तथा डाक्टरमा मधेशीको सँख्या बढी भएको भन्दै सचिवलगायत कर्मचारी किन बनाउनुपर्यो भन्ने प्रश्न गर्ने राज्यसत्तालाई नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को चुनावमा इन्जिनियर्स जनमत युनियन (इजु) सहितको गठबन्धन जिताएर जबाफ दिनुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र मधेश प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि इन्जिनियर्स जनमत युनियन, रिन तथा पिन गठबन्धनद्वारा सोमबार साँझ जनकपुरधाममा आयोजित उम्मेदवार परिचय तथा अन्तक्र्रिया कार्यक्रममा जनमत अध्यक्ष डा.राउतले सो कुरा बताएका हुन् ।
उनले डाक्टर र इन्जिनियरहरूमा मधेशी बढी भएकाले अर्थोक बन्न नहुने भाष्य बनाइएका बेला एनईएमा इजु, पिन र रिन गठबन्धनको जितलाई आत्मसम्मानको विषयका रूपमा लिनुपर्ने उल्लेख गरे ।
डा.राउतले एनईएमा प्रतिनिधित्वको कुरा मधेशी इन्जिनियरका लागि चुनौती रहेको पनि प्रस्ट्याए । जनमत इन्जिनियर्सको पार्टी र इन्जिनियर्सलाई बढाउने भएको थप्दै अध्यक्ष डा.राउतले देश बनाउने दुरदृष्टि इन्जिनियरसँगै भएकाले देशमाथि इन्जिनियरको कब्जाका लागि पनि इजु, पिन र रिन गठबन्धनका पक्षमा मतदान गर्नुपर्ने औंल्याए ।
उनले कमजोर रहेको एनईएलाई इन्जिनियर्सका हकहित र अधिकार स्थापित गराउने शक्तिशाली संस्था बनाउनुपर्नेमा जोड दिँदै मजदुरभन्दा पनि कम दसबाह्र हजार रुपैयाँमा काम गर्नुपर्ने इन्जिनियरलाई सबल र सशक्त बनाउने ऐन, कानुन रर अन्य व्यवस्थाका लागि मूलधारका पार्टीले काम नगरेको तर इन्जिनियरलाई भोट बैंकका रूपमा प्रयोग गरेको बताए ।
अध्यक्ष राउतले कानुन, न्याय आदि सेवाका सचिवकै हाराहारीमा इन्जिनियरिङ्ग सेवाबाट समेत सचिव बन्नुपर्ने, इन्जिनियरहरूका लागि प्रशिक्षण केन्द्र स्थापना र हरेक वडा तहमा इन्जिनियरको नियुक्ति आदि विषयका लागि जनमत पार्टी लड्ने बताए ।
मधेश प्रदेशका मुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतिशकुमार सिँहले देशका दक्ष जनशक्ति विदेशमा अवसर खोजिरहेका बेला जनमत पार्टीका अध्यक्ष डा.सिके राउत देश बनाउने सङ्कल्प, साहस र दृढताका साथ अमेरिकाको प्रतिष्ठित संस्थामा वैज्ञानिकको भूमिका त्यागेर स्वदेश फर्कनुभएको दृष्टान्त उदाहरणीय भएको बताए ।
एनईएको आगामी २८ गते हुने निर्वाचनमा मधेश प्रदेशमा जनकपुरधाम र वीरगञ्जमा मतदान केन्द्र राखिएका छन् । जनकपुरधाममा एक हजार एक सय १२ र वीरगञ्जमा तीन सय ६६ मतदाता छन् ।
इजु, पिन र रिन गठबन्धन इन्जिनियर रामेश्वरप्रसाद कलवारको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको चुनावमा होमिएको छ ।














