काठमाडौं, २० भदौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल अगाडि बढाएको छ ।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ जति सक्दो छिटो पास गराउने सरकारको चाहना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए ।
बिहीबार समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यो विधेयक बनाउन ढिलो भएको निश्कर्षमा सरकार पुगेको बताए ।
प्रस्तावित विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । यो संशोधनमाथि एक÷एक गरेर छलफल अगाडि बढाए समय लाग्ने भन्दै मन्त्री गुप्ताले विषयका आधारमा छुट्याएर छलफल गर्न सुझाएका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्त, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे लगायतले विधेयकका प्रावधानहरूमा राजनीतिक दलहरुबीच सहमति आवश्यक रहेको बताए ।
उनीहरूको भनाइमा समर्थन जनाउँदै मन्त्री गुप्ताले राजनीतिक सहमतिका लागि पहल लिने प्रतिवद्धता गरे ।














