काठमाडौं, २० भादौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका लागि नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले आज शिष्टचार भेट गरेका छन् ।
भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमा जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा राखे ।
उनले राज्यमा जनताको पहुँच र स्वामित्व स्थापित गर्न निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए । सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए ।
राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाका साझा उद्देश्य प्राप्त गर्न र चुनौतीविरुद्ध सामूहिक रूपमा सामना गर्न आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिबद्ध रहने बताए ।
सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औँ सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।














