काठमाडौँ, भदौ १७ । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको छ ।
एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको हो । आयोगले विद्यार्थीले परीक्षा फाराम भरेर प्राप्त गरेको रोल नम्बरका आधारमा नतिजा निकाल्दा समस्या देखिएको हो । विद्यार्थीहरूले आयोग परिसर तथा माइतीघर मण्डलामा पुगेर प्रदर्शन गरेका हुन् ।
रोल नम्बरका आधारमा नतिजा प्रकाशन गर्दा त्रुटि भेटिएपछि आयोगले सुधार गरेर अर्को नतिजा प्रकाशन गरेपनि विद्यार्थीहरूले चित्त नबुझाएका हुन् । आयोगले भदौ १ गते लिएको एमबीबीएसको परीक्षाको नतिजा भदौ १४ गते प्रकाशन गरेको थियो ।
आयोगलाई बुझाएको ज्ञापनपत्रमा रोल नम्बरका आधारमा सार्वजनिक गरिएको नतिजा सच्याएर आएपनि उत्तरपुस्तिका र ओएमआर सिट समेत सार्वजनिक हुनुपर्ने माग पेस गरिएको एक विद्यार्थीले बताए ।














