सिरहा, ११ भदौ । सिरहामा दुई लघुवित्त वित्तीय संस्थामा आगजनी गरिएको छ ।
गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेका हुन । त्यसक्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलाइएका छन् ।
करिब २० जनाको समूहमा आएका महिलाले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुईवटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति नेपालले घटनाको जिम्मा लिएको छ ।
सरकार र सङ्घर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू सङ्घर्षमा जान बाध्य भएको सङ्घर्ष समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए ।














