एजेन्सी, अफ्रिकाका केही भागमा एमपक्स (मंकीपक्स) रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ । एमपक्स एक संक्रामक रोग हो, पहिले मन्कीपक्स भनेर चिनिन्थ्यो ।
अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् । अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ ।
वैज्ञानिकहरूले पनि रोगको द्रुत गतिमा फैलिरहेको र उच्च मृत्यु दर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिन्छ । एमपक्स संक्रमण व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ ।
जस्तैः शारीरिक सम्पर्क, स्पर्श, वा कुरा गर्ने वा एक अर्काको नजिक सास फेर्दा । यो रोगमा चिसो लागेकाजस्ता लक्षण देखिन्छन् । थप रूपमा बिरामीहरूको छालामा घाउ पनि आउन सक्छन् ।














