काठमाडौ, २८ साउन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीका युवाहरूले प्रदर्शन गरेका छन् ।
कुलमानविरुद्ध सरकारले ‘अनावश्यक’ दबाब बढाएको भन्दै राजधानीमा युवाहरूले प्रदर्शन गरेको छ । डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल विवादमा सरकार ठूला उद्योगीहरूलाई बक्यौता छुट दिनेगरी लागेको उनीहरूको आरोप छ ।
सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर’, ‘विद्युत् प्राधिकरण डुबाउने चलखेल बन्द गर’, ‘तानाशाही प्रवृत्ति बन्द गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।














