काठमाडौं, २० साउन । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ ।
एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । कांग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो ।
तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ३ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ ।
कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।














