जनकपुर, १७ साउन । मधेश प्रदेश सरकारले शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु स्वर्गीय गुरुदेव कामतको सम्मानमा आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज शोक वक्तव्य जारी गर्दै शास्त्रीय तथा सुगम सङ्गीतका साधक एवं गुरु गुरुदेव कामतको निधनले सङ्गीत क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै राष्ट्रिय झण्डा आधा झुकाउने मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले निर्णय गरेको बताए ।
स्वर्गीय शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतले शास्त्रीय तथा सुगम सङ्गीतलाई मनोरञ्जन तथा जीविकोपार्जनको माध्यम मात्र नभई शिक्षा, चेतना र संस्कार उन्नयनका लागि सङ्गीत विधालाई आजीवन साधनाको माध्यम बनाउनु भएकाले उहाँको निधनबाट यस क्षेत्रका लागि ठूलो क्षति भएको मुख्यमन्त्री सिंहले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख रहेको छ ।
दुवै मृगौलामा समस्या देखिएपछि गृह जिल्ला सिरहामा उपचाररत सङ्गीत साधक कामतको ६८ वर्षको उमेरमा २०८१–०४–१७ गते निधन भएको थियो ।












