जनकपुर, २२ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत पाएका छन् ।
गत जेठ २५ गतेमात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन् ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे । उनको पक्षमा ६७ मत र विपक्षमा ३४ मत प्राप्त भएको छ ।
प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले असार २१ गतेका लागि विश्वासको मत लिनका लागि गत असार १४ गते नै प्रदेशसभामा पत्र दर्ता गराएका थिए ।
मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ सांसद छन् । मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।














