जनकपुर, २३ जेष्ठ। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
उनले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर बुधबार जनकपुरको नोचा पोखरीमा बृक्षारोपन गर्दै साहले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो ।
यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरुको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरूको संरक्षणका लागि अत्यावश्यक छ ।
उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए ।
यस्तै, उनले जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिँदै गइरहेको, नदीहरू सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याईरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताए ।
परिस्थितिकीय प्रणालीको पुनर्स्थापना गर्नु वातावरण संरक्षणको मुख्य अङ्ग भएको बताउँदै उनले विनास भएका वन क्षेत्रको पुनर्स्थापना, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानवीय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिए ।
‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनाशको चपेटमा परेको छ। प्राकृतिक रुपमा पनि क्षयीकरण भैरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खननले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ ।
यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ।’ उनले थपे,। यो प्रयासलाई सफल बनाउन सबै तहका मानिसहरूको सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गर्दछु ।’












