जनकपुरधाम, ४ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको छ ।
दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् ।
त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । तर जनता समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री यादवले अस्वीकार गरेका थिए ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको थियो । मंगलबार दिउँसोको बैठक जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन ।
प्रदेश सभा बैठक सञ्चालनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्ने छ । १०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९÷९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक÷एक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।














