काठमाडौं, २२ चैत । गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको स्रोतले बताए । मेयर बालेन आफ्ना पुरानै चासो लिएर गृहमन्त्री भेट्न पुगेका थिए ।
यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सहयोग नगरेको भन्दै असन्तुष्ट रहेका बालेन लामिछानेसँग ट्युनिङ मिलाउने प्रयासमा छन् ।
श्रेष्ठ गृहमन्त्री हुँदा राखेका प्रस्तावहरुको फलोअपका लागि उनले लामिछानेलाई भेटेको महानगर स्रोतले बताए । भेटवार्तामा बालेनले सुकुम्बासी समस्या समाधानबारे आफूले राखेको प्रस्तावमा के भयो भन्ने जिज्ञासा राखेका थिए ।
‘सुकुम्बासीको व्यवस्थापनमा म अगाडि बढेँ, तर गृह मन्त्रालयका कारण योजना सफल हुन सकेन’, बालेनले भने । गृहमन्त्रीसँग भेटको फोटो नखिच्न आग्रह गरेका थिए । रवि दोस्रोपटक गृहमन्त्री भएपछि पहिलोपटक बालेनले उनलाई भेटेका हुन् ।














