काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पदभार ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित एक समारोहका बिच मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
दाहाललाई राष्ट्रपति पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका थिए । माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै विजयी भएका दाहालले सत्ता र प्रतिपक्ष दुवैलाई मिलाएर अघि बढ्ने बताए ।
उनलाई सिंहदरबारस्थित कार्यालयमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितले स्वागत गरे ।
सत्ता र प्रतिपक्ष दुवैतर्फका सबै सांसदलाई एकै ठाउँमा राखेर समन्वय गर्दै अघि बढ्ने कुरामा विश्वस्त छु’, उनले भने, ‘राष्ट्रिय सभालाई ओझपूर्ण बनाउन लाग्नेछु ।
राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए । दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो ।














