रौतहट,६ असोज । फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले पनि राहत नदिएको छ ।
विशेष अदालतको फैसलाविरुद्ध यादवले दिएको पुनरावेदन सर्वोच्च अदालतले अस्वीकार गरेपछि तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय कायम भएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार यादवको पुनरावेदनमा पुनरावेदन जिकिर नपुगेको आदेश दिएको हो ।
लालबकैया नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननको ठेक्का प्रक्रियामा अनियमितता गरी स्थानीय तहलाई आर्थिक क्षति पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित २१ जनाविरुद्ध २०७९ असार १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको थियो । विशेष अदालतले २०८० असोज १७ गते यादवलाई दोषी ठहर गर्दै असोज २४ गते तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
मुद्दामा अन्य २० प्रतिवादीले भने सफाइ पाएका थिए।लालबकैया नदीको ठेक्का फतुवा विजयपुर र गुजरा नगरपालिकाले संयुक्त रूपमा लगाउने तथा आम्दानी ६० र ४० प्रतिशतका दरले बाँडफाँट गर्ने व्यवस्था थियो ।
उनको अनुपस्थितिमा उपमेयर अम्बेया खातुनले कार्यवाहक मेयरका रूपमा नगरपालिका सञ्चालन गर्दै आएकी छन् ।














