जनकपुर, ४ असोज। मधेश प्रदेशमा दलित समुदायको अधिकार, प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न माग गर्दै विभिन्न दलित संघ–संगठनले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मालाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा हालको कानुनी व्यवस्थामा ‘मधेशी दलित’को स्पष्ट परिभाषा नभएको भन्दै आवश्यक कानुनी व्यवस्था गर्न माग गरिएको छ। साथै अति विपन्न, भूमिहीन, आवासविहीन तथा मधेशी दलित महिलालगायतका लक्षित समूहलाई स्पष्ट रूपमा परिभाषित गरी अधिकार र सुविधा सुनिश्चित गर्न आग्रह गरिएको छ।
दलित संघ–संगठनले राजनीतिक दलका सबै तहका कार्यसमितिमा दलितको समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व, संघीय संसद्, मधेश प्रदेशसभा तथा स्थानीय तहमा मधेशी दलितको जनसंख्या र सामाजिक–आर्थिक अवस्थाका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
ज्ञापनपत्रमा स्थानीय तहका नेतृत्व तथा निर्णय प्रक्रियामा समेत मधेशी दलितको सहभागिता बढाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख छ।
दलित संघ–संगठनले उक्त मागलाई आगामी कानुन तथा नीतिमा समेट्न मन्त्री तत्मामार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।














