काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको आगामी समीक्षा सीमान्तकृत र राज्यको पहुँचबाट पछाडि परेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधानलाई जीवन्त दस्तावेजका रूपमा व्याख्या गर्दै आवश्यकता र राजनीतिक अभ्यासअनुसार यसको संशोधन तथा परिमार्जन हुन सक्ने बताएका हुन्।
उनले संविधानले प्रत्याभूत गरेका मौलिक हक व्यवहारमा सीमान्तकृत नागरिकको दैनिक जीवनमा अनुभूत हुनुपर्नेमा जोड दिए। आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको आधार अझै बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले विद्यमान कमजोरी सुधार गर्न विवेकपूर्ण बहस आवश्यक रहेको बताए।
लामिछानेले लोकतन्त्र र समावेशितालाई थप सुदृढ गर्दै बलिया संस्थामार्फत बलियो नेपाल निर्माणका लागि राजनीतिक शक्ति, राज्यका निकाय र नागरिक एकजुट हुनुपर्ने धारणा राखेका छन्।














