काठमाडौँ, १ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिले निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई सम्मानपूर्वक समेट्ने निर्णय गरेपछि उनीहरूलाई बैठकमा औपचारिक निमन्त्रणा गरिएको थियो। निमन्त्रणा स्वीकार गर्दै दर्जनौँ निवर्तमान केन्द्रीय सदस्य बैठकमा सहभागी भएका छन्।
निवर्तमान तथा वर्तमान नेतृत्व एउटै मञ्चमा उपस्थित भएसँगै आगामी १५औँ महाधिवेशन सफल पार्ने अभियान अघि बढ्ने कांग्रेसले जनाएको छ। असोज ३ गतेदेखि वडा तहको निर्वाचन प्रक्रिया सुरु हुने र असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५औँ महाधिवेशन हुने तयारी छ।














