रसुवा, ३१ भदौ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट चारवटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ।
नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल विद्युत् प्राधिकरण र भारतीय सेनाको संयुक्त खोज तथा उद्धार टोलीले शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
भदौ १० गतेको भोटेकोशी बाढीले जलविद्युत् केन्द्रका संरचना बगाउनुका साथै सुरुङ बन्द भएपछि उद्धार टोलीले खोजी जारी राखेको थियो। बाढीका दिन केन्द्रमा एक इन्जिनियरसहित ६ जना कर्मचारी कार्यरत थिए।
यसैबीच, अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट पनि पाँच जनाको शव फेला परेको जनाइएको छ। सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि नेपाली सेनाले धुन्चेमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।














