काठमाडौं, ३१ भदौ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारी कामकाजलाई सरल र डिजिटल बनाउनेदेखि कर्मचारी बढुवा तथा राहत कोष सञ्चालनसम्मका विषयमा निर्णय गरेको छ।
मुख्य निर्णयहरू
- सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटलाइजेसनसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने।
- सूचीकरण भएका निकायबाट प्राप्त लाभमा अग्रिम कर निर्धारण गर्ने। प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको लाभमा ५ प्रतिशत अग्रिम कर कायम गर्ने।
- नेपाल न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने। खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय।
- साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बीमा तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउने। यसका लागि साउदी नागरिक कानुन व्यवसायीलाई पावर अफ अटर्नी दिने आदेश जारी गर्ने।
- चक्रिय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गर्ने।
- नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने।














