काठमाडौं, ३१ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर प्रसूति सेवाका लागि पुगेकी महिलाले शिशु जन्माएको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राप्त गरेको छ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीले भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत निरीक्षण गरी सेवा प्रवाह, स्वास्थ्यकर्मी तथा प्रशासनको भूमिकालगायत विषयमा अध्ययन गरेको थियो।
प्रतिवेदनमा आचारसंहिता उल्लङ्घन देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ। साथै, अस्पतालको कर्मचारी व्यवस्थापन अव्यवस्थित रहेको औँल्याउँदै ८० अस्थायी दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी गरिएको छ।
मन्त्रालयले अस्पतालमा ७ जना चिकित्सक दुई वर्षका लागि पठाइसकेको जनाउँदै सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सुधार गर्ने तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जनाएको छ।














