काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालमा परेको जनधनको क्षतिप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिए।
उनले विपद्मा नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढिरहेको उल्लेख गर्दै जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले नेपालको पर्यटन विकासमा अमेरिकी लगानीको स्वागत गर्ने धारणा राखे।
कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाइन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सरकार सहयोगका लागि तयार रहेको बताइन्।














