काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छापा सञ्चारमाध्यमलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघ तथा छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै ओलीले सरकारलाई व्यंग्य गर्दै ‘छापा–मार सरकार’को संज्ञा दिए।
उनले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण छापा माध्यम संकटमा परेको बताए।
ओलीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक रहेको भन्दै स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गरे। साथै, छापा माध्यमको संरक्षणका लागि एमालेले संसद् र बाहिरबाट आवाज उठाउने प्रतिबद्धता जनाए।














