काठमाडौं, २८ भदौ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ। पहाडी तथा तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।














