सुनसरी, २८ भदौ । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी–७ र १७ को सीमामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार कर्मचारीका रूपमा प्रमुख जिल्ला अधिकारीका स्वकीयमा कार्यरत थिए। थापा पनि सोही कार्यालयका पूर्वकरार कर्मचारी हुन्।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार दुर्घटना राति करिब २ बजे भएको हो। घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।














