जनकपुर, २७ भदौ । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्य कार्यालयमा कामकाजका लागि नखटाउन निर्देशन दिएको छ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई पत्र पठाउँदै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा सोही दरबन्दीमा कार्यरत जनशक्तिलाई अन्यत्र खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो।
मन्त्रालयका अधिकृत सातौँ बच्चेलाल साह तेलीको हस्ताक्षर रहेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा अन्य कार्यालयमा हाजिर गराउने व्यवस्था तत्काल रोक्न भनिएको छ।
प्रदेश मन्त्रिपरिषद्को २०८३/०४/२८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ। सोही निर्णयका आधारमा सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन दिइएको हो।
निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायत निकायमा पठाइएको छ।
मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीको कामकाज र हाजिरीसम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न निर्देशन जारी गरिएको जनाएको छ। नयाँ अस्थायी दरबन्दी स्वीकृत नभएसम्म सम्बन्धित कर्मचारीलाई हाल कार्यरत कार्यालयमै हाजिर गराउनसमेत मन्त्रालयले स्पष्ट पारेको छ।














