काठमाडौं, २६ भदौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल पग्लिने, हिमपहिरो जाने र हिमताल फुट्ने समस्या कुनै एक देशमा सीमित नरहेको बताएका छन्।
शुक्रबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको प्राकृतिक विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्वलाई नै गम्भीर बनाएको बताए।
उनले पछिल्लो विपद् सामान्य बाढी नभई हिमाल पग्लिने तथा हिमताल फुट्नेजस्ता जलवायु परिवर्तनसँग जोडिएका घटनाको परिणाम भएको बताए। जलवायु परिवर्तनका कारण बढी क्षति व्यहोर्ने नेपालजस्ता देशले ‘जलवायु न्याय’अन्तर्गत अन्तर्राष्ट्रिय सहयोग पाउनुपर्ने उनको भनाइ छ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा र कोप सम्मेलनमा जलवायु न्यायको विषय उठाएको स्मरण गर्दै बढी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले प्रभावित मुलुकलाई सहयोग गर्नुपर्ने बताए।














