काठमाडौं, २६ भदौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सप्तरीकी बबिता पासवानले अस्पतालबाहिर बच्चा जन्माउन बाध्य भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले उपचारका लागि रकम अभाव हुँदा बबिताले सडकमा बच्चा जन्माउनुपरेको उल्लेख गरिन्। उनले चुनावका बेला प्रधानमन्त्री बालेन्द्र शाहले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुन नपर्ने बताएका विषय स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे प्रश्न उठाइन्।
ओलीले घटनाबारे प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग जवाफ माग गर्दै सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी एजेन्डा कार्यान्वयनको अवस्था स्पष्ट पार्न आग्रह गरिन्। अन्य सांसदहरूले पनि घटनाबारे सरकारको जवाफ मागेका छन्।














