केपि रिपोर्टर,प्रवेश साह
प्रवेश साह । जनकपुर, २५ भदौ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-सपहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०६६ प ५८४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा सिरहाको नरहा गाउँपालिका–५ का २५ वर्षीय सुभाष यादव र सुमन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू एउटै मोटरसाइकलमा सवार थिए। स्थानीयका अनुसार विपरीत दिशाबाट आएको अर्को मोटरसाइकलसँग ठोक्किएपछि दुर्घटना भएको हो।
दुर्घटनापछि स्थानीयको सहयोगमा दुवै जनालाई उपचारका लागि जानकी मेडिकल कलेज शिक्षण अस्पताल, रमदैयामा पुर्याइएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अर्को मोटरसाइकलका चालकसमेत घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।














