काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
ग्यास अभावबारे संसदीय समितिमा दिएको विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवमाथि राजीनामाको दबाब बढेको थियो। उनले ग्यास अभाव उद्योगीका कारण भएको भन्दै उद्योगीलाई कडा कारबाही गर्नुपर्ने धारणा राखेकी थिइन्।
यादवले देशमा ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको र दुईवटा उद्योग भए पुग्ने भन्दै सबै उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अभिव्यक्तिसमेत दिएकी थिइन्। उनको भनाइप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।
यसैबीच काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य छन् भने तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो गरेका छन्।














