काठमाडौ, २५ भदौँ । रसुवा, भोटेकोशीलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनालाई प्रभावकारी बनाउन विपक्षी दलहरूले तत्काल संसदीय विशेष समिति गठन गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा विपद्को समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धार तथा राहत कार्यमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालिएको हो।
बैठकमा सरकारका राहत तथा उद्धारका कामको निगरानी, अनुगमन गर्नुका साथै आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्नुपर्नेमा जोड दिइएको थियो ।
नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विपद् व्यवस्थापन, राहत, उद्धार र पुनस्र्थापनामा सरकारलाई सहयोग गर्न तथा सरकारी कामकारबाहीको निगरानीका लागि समिति आवश्यक रहेको बताइन् ।
उनले हालसम्म समिति गठन नभएकाले सरकारको ध्यानाकर्षण गराउने र संसद्मा विषय उठाउने निर्णय भएको जानकारी दिइन्। सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै उनले समन्वय र पूर्वतयारी अझ प्रभावकारी भएको भए थप नागरिकको ज्यान जोगाउन सकिने बताइन् ।














