काठमाडौँ, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा पाँच जना प्रदेशसभा सदस्यलाई कारबाही गर्न सभामुखसमक्ष सिफारिस गरेको छ।
कारबाही सिफारिसमा पूर्वसभामुख भुवनकुमार पाठकसहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्।
दलले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। तर पाँचै जना बैठकमा अनुपस्थित भएको संसदीय दलले जनाएको छ।
ह्विप उल्लङ्घनबारे ७२ घण्टे स्पष्टीकरण सोधिए पनि जवाफ नआएपछि उनीहरूलाई प्रदेशसभा सदस्यबाट हटाउने प्रक्रिया अघि बढाइएको प्रमुख सचेतक डम्बर तामाङले बताएका छन्।














