काठमाडौँ, २३ भदौ । भोटेकोशी बाढी तथा प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीमध्ये १०२ शवको सनाखत भई परिवारलाई बुझाइएको छ।
प्राधिकरणका अनुसार अझै ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। तीमध्ये रसुवाका २ हजार ८६०, नुवाकोटका १ हजार ९८१ नेपाली तथा ५८७ विदेशी पर्यटक रहेका छन्।
हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ भने ६ हजार ८२७ घाइतेको उपचार भएको छ। उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा ३९ होल्डिङ सेन्टरमार्फत ३ हजार ५३३ जनालाई राखिएको छ। सरकारले प्रभावित तीन जिल्ला तथा १५ स्थानीय तहलाई गरी १४ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। साथै, रसुवा, नुवाकोट र धादिङमा अधिकांश घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।














