जनकपुर, २१ भदौ । महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवनमा विभिन्न खेलाडी तथा खेलकुद समूहलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा नेकपा एमाले भंगहा नगर कमिटीको आयोजनामा सामग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले युवालाई सकारात्मक र सिर्जनशील बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र आपसी सहकार्यको भावना विकास गर्ने उल्लेख गरे । मन्त्री दासले स्थानीय तहमा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई आवश्यक अवसर र खेल सामग्री उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले गाउँ तथा समुदायस्तरबाटै खेलाडी उत्पादन गर्ने वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए । नगर अध्यक्ष चन्द्र नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका युवा नेता सुनिल यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यादव र रमेश यादवको पहलमा वडा क्षेत्रका विभिन्न खेलाडी तथा खेल समूहलाई खेलकुद सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा युवा नेता भजन दास, मनोज साह, नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला, बुद्धिजीवी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । 














