काठमाडौं, १९ भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी तथा त्रिशूली नदीको बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अपिल गरेको छ।
बाढीबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकलाई जीवनरक्षक सहायता पुर्याउन राष्ट्रसङ्घले मानवीय सहायता साझेदारसँग सहयोगको आह्वान गरेको हो। नेपाल सरकारको नेतृत्वमा तयार पारिएको चारमहिने योजनाअन्तर्गत हिउँदअघि उच्च हिमाली क्षेत्रका प्रभावितलाई आवश्यक सहायता पुर्याउने लक्ष्य राखिएको छ।
योजनाअनुसार विस्थापित परिवारलाई अस्थायी आवास तथा जाडोबाट जोगिने सामग्री, आवश्यक स्थानमा नगद सहायता र विद्युत् सुविधा नभएका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराइनेछ। क्षतिग्रस्त खानेपानी तथा सरसफाइ संरचना मर्मत, स्वास्थ्य शिविर, पोषण सहायता र पानीजन्य रोग नियन्त्रणलाई पनि प्राथमिकता दिइनेछ।
त्यस्तै, परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण तथा पुनर्मिलन, खाद्य सहायता र प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने राष्ट्रसङ्घले जनाएको छ।
राष्ट्रसङ्घका अनुसार बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती प्रभावित भएका छन् भने सडक, विद्युत्, खानेपानी र सरसफाइका संरचनामा ठूलो क्षति पुगेको छ।














