काठमाडौं, १८ भदौ। आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो कोसी, वाग्मती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्नेछ।
राति कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना छ। देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ।
मधेस र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी तथा विभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ।














